Ticker

6/recent/ticker-posts

'मणिपुरको चिठ्ठी' भित्रबाट


   जिन्दगी छोटो छ । त्यसैले भनिन्छ मान्छेले प्रत्येक दिन सार्थक बनाउन सक्नुपर्छ । मैले पनि आजको दिन अर्थात वि.स. २०७९ पौष महिनाको अन्तिम दिनको अघिल्लो दिन औं २९ गतेलाई साहित्यकार गोविन्दराज भट्टराईको उपन्यास "मणिपुरको चिठ्ठी" को चर्चा गर्ने साहस गर्दै रिभ्यु विधामा आफुलाई उजागर गर्ने निर्णय गर्दै सार्थक बनाएँ भन्ने सोचेको छु। यो मेरो जीवनको पहिलो किताब चर्चामा कमि कमजोरी भएका हुनसक्छन् र पाठकहरूले त्यसलाई बुझेर क्षमा गरिदिनुहुनेछ भन्ने आशा राखेको छु ।

   कितावमा वि.स. २०१०/२० तिरको सामाजिक परिवेशलाई दर्शाउँदै त्यस वखतको समाजमा ब्याप्त सामाजिक अन्धविश्वासलाई लेखकले समेटेका छन्। लेखकले त्यस समयमा पुरुष बाँझोपन र त्यसले एक स्वस्थ, सबल, सर्वगुणी महिलामा पार्ने गरेको प्रभाव, अनगिन्ती पिडा, घाउ र अज्ञानी समाजले त्यस घाउमा नुनुचुक छर्केर कसरी बढावा दिन्थ्यो भन्ने कुरालाई मुल कथानकका रुपमा प्रयोग गरेका छन्। 
   किताब तुलनात्मक रूपमा आकारमा सानो भएपनि एकोहोरो धेरै पढ्न नसक्ने बानीले पुरा पढ्न तीन कार्यदिन समय लागेको थियो।
    उपन्यासमा लेखक स्वयंले कथा भनिरहेका छन्। ' म अतितबाट भाग्न चाहान्छु तर त्यो असम्भव छ ' भन्ने स्वीकार्दै आफ्नो दिदी 'शोभा' लाई संसारबाटै गुमाउँदाको पिडामा भावविह्वल हुँदै कथाको सुरु हुन्छ। बाल्यकालमा दिदी 'शोभा'ले आफूप्रति दर्शाएको माया, स्नेह, उनीसँगै विताएका कयौँ तितामिठा क्षणहरु सम्झिन्छन्, उनको वियोगमा। 
    बाँझोपनले ग्रस्त भिनाजु लिलानाथले सन्तान नभएपछि दिदिको मतलव नगर्ने, हप्ता दश दिनमा एक विहान घर आउने भएतापनि पुरा समाज दिदि शोभामै कमजोरी देख्ने र नकारात्मक मानसिकता बनाउने कुरा पनि त्यस समयको अन्धविश्वासको एउटा विम्बको रूपमा चित्रण गरिएको देखिन्छ।
    प्रसंगहरु वहदै जाँदा शोभाले 'जेठो कामी'सँग दोस्रो बिबाहको रुपमा भागेर गएको र घरमा दाजु (लेखकका) शोभाको निर्णयको सदैब सद्भाव र समर्थन गर्दै अन्धविश्वासको अन्धकारमा बाँचेका आफ्नै बाबु, आमा, र समग्र समाजका विरुद्ध जाइलाग्ने विम्बको मार्फत त्यस बखतको समाजमा शिक्षाको कति जरुरत थियो र साथै चेतनाले मान्छेलाई कसरी क्रान्तिकारी बनाउन सक्छ भन्ने कुरा बडो मर्मस्पर्शी ढंगले देखाइएको छ।
   सरल भाषाशैली, शब्द चयन र सरररर.. बगेको कथा भएकाले पठनमा त्यति असहजता भएन। पुस्तक पढिरहँदा पाठकको मनलाई तानीरहन्छ कथाले- एकोहोरो।
   शोभा समाजबाट जतिसुकै टाढा भएपनि भाइ,लेखकसँग भने उत्तिकै नजिक हुन्छिन्। चिठ्ठी मार्फत प्रेमपूर्ण रूपमा लेखकलाई समाजमा ब्याप्त रुढिवादी, अन्धविश्वासलाई निर्मुल पार्न उनीहरुजस्ताले आजैदेखि लाग्नुपर्छ, साहस गर्नुपर्छ भन्ने सुझाब दिइरहेका दृष्टान्तहरु पनि उपन्यासमा देख्न सकिन्छ।
    परदेशीएको बर्षौँपछि शोभा, वावु आमा र भाइ, लेखकको स्वदेशमा पुनर्मिलनको प्रयास रहँदा रहँदै बाटोमै लामो समयको रोगले शोभा लाई सबैबाट सदाका लागि लैजान्छ र त्यसै पिडामा लेखक भेटिन्छन्।

    चिठ्ठीको रूपमा उपन्यासको नौलोपन छ पक्कै। वाक्य संरचना, शब्द चयनको फरक स्वाद लिन पाइने गोविन्दराज भट्टराईको यस रचनाले मन तान्यो।
   समाजमा ब्याप्त रुढिवादी परम्परा, कुसंस्कार बिरुद्धमा साहित्यकार भट्टराईबाट यस किसिमका सिर्जनाहरु निरन्तर रुपमा आइरहुन, भन्ने कामना गर्दछु।

Post a Comment

2 Comments