हिजो,
म र ती ज्ञानी भनाउँदाहरु बीच
घम्सा-घम्सी नै पर्यो ।
उनीहरु भन्छन् 'एक पल'को अर्थ
सानो भन्ने हुन्छ,
म भन्छु 'एक पल'को अर्थ
ठूलो भन्ने हुन्छ ;
उनीहरु भन्छन् 'एक पल'भनेको महत्व
कम भएको हो,
म भन्छु 'एक पल' भनेको महत्व
बढी भएको हो ,
बहस चल्दै गयो ,लाग्यो
हुन पनि हो,उनीहरु
पढेर जान्ने भएका हुन्,म
परेर जान्ने भएको हुँ,
फेरि परेर जान्नेहरुले भनेको
कहिले पो भएको छ र?
परेर जान्नेहरुले कहिले पो
जित्न पाएका थिए र?
अन्तिममा आएर हारेँ,मैले पनि
फेरि पनि उनीहरुले नै जीते ।
परन्तु,
तथ्य र प्रमाणहरु केहि
मसँग पनि थिए;
एक पल मात्रै रोकिएका
खुट्टाहरु हजारौं माईल
पछि पर्छन् ;
कयौँको अस्तित्व सकिन्छ,
एक पल मात्रै हावा
बहन छोड्यो भने;
एक पलमै कसैले नयाँ
जीवन पाउँछन;
कसैले पाएको जीवन गुमाउने
पनि पल भरमै हो;
भने, म कसरी 'एक पल'को अर्थ
सानो भन्ने हुन्छ भन्ने कुराको
समर्थक भएर बस्नु ?
'एकपल'मै हो म र तिमी भेटिएका,
पल भरमै तिमीले सवैकुरा भन्न सक्यौ,
पल भरमै मैले सबैकुरा सुन्न सकेँ;
तिमीले भन्यौ"तिमीजस्तो म होईन",
सोचेँ हुन पनि हो,हिँड्दा पनि
चिप्लिन सक्ने धरातल
बाट आएकी तिमी,
अनि हिड्दा पनि ठेस
लाग्ने धरातलबाट,
आएको म;कसरी एकै हुन
सक्छौँ र?
एक पल मै हो हामीले
पिरती लाएको, र
छुट्टिएको पनि त्यहि एक
पलमै हो;
जीवनको एउटा पाटो
बोकेको त्यो 'एक पल'लाई
महत्वहीन भनको ,म
कसरी स्विकार्न सक्छु र ?
लाग्दैन कि सुख र
दु:खको चक्रभ्यु भित्र
उकुस्-मुकुस् भएका
मेरा जस्तै कैंयौं "एक पल"हरु
उनीहरुसँग पनि नभएका
होईनन् ।
लाग्छ त केबल दौलतको,
भ्रमित संसारमा बाँचेका
तीनलाई यस्ता पलहरुको
बारेमा सोच्ने फुर्सद नै कहाँ छ र?,
कहाँ गर्न सक्छन् र महशुस ?
कोरा ज्ञानले भरिएको ,
मस्तिष्कबाट तरङ्गित
भएर उनीहरु ठानीरहेछन् कि,
कडा चट्टानलाई,धुलो
बनाईदिएका छन्;जो टुक्रिन
सक्छ तर धुलो कदापि हुँदैन्;
जो आफैमा एउटा;
-वजनदार छ,
-युग बोकेको छ,
-यथार्थ हो |
✍युवराज अवशेष
0 Comments